मतदाता रिझाउन खेतबारीमै पुगेर मत माग्दैँ उम्मेदवार
पर्वत | कात्तिक १०, २०७९
कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।
उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न”, धाइरिङकी नवीना आचार्यले भन्नुभयो, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।”
धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांगे्रसका युवानेता याम परियारले भन्नुभयो, “अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छौँ ।”
कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर एक सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन् । यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ ।
“हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ”, स्थानीय प्रमिला जिसीले भन्नुभयो, “हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन् । हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ ।”
महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्कनुभएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिनुहुन्छ । उहाँ देशको बिगँ्रदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित हुनुहुन्छ । “पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु”, उहाँले भन्नुभयो, “गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।”
कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एकपटक भिड्न लाग्नुभएको छ । गिरीले तीन पटकसम्म लगातार निर्वाचन जित्नु भएको छ । उहाँले जोशीलाई पराजित गर्नुभएको थियो ।
प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार बन्नुभएको छ । त्यस्तै प्रदेशसभा–१ (ख)मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार हुनुहुन्छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालनाका विषयमा निगरानी गरिरहेको निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो । “हामीले दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनावश्यक तडकभडक, आमसभा, बाजागाजा, ¥यालीलगायतका कार्यक्रम गर्न रोकेका छौँ ।” कात्तिक १७ गतेपछि दलहरूले आमसभालगायत कार्यक्रम गर्न पाउने छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

